ताजा समाचार

कर्णाली प्रदेशको विवाद मिलाउन ओली-प्रचण्ड छलफलमा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशका १८ जना सांसदले अघिसारेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने स्रोतले जानकारी दियो ।

प्रचण्डले विवाद सल्ट्याउन ओलीलाई आग्रह गरिसकेका छन् । ओलीनिकट नेताहरूले पनि अहिले विवाद चर्काउने बेला नभएको र अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरिसकेकाले दुई अध्यक्षले आजै निर्देशन पठाउने तयारी गरेको पनि बुझिएको छ ।

उता माधव नेपाल पक्ष पनि अविश्वासको प्रस्तावबाट पछि हटिसकेको एक नेताले बताए । नेता नेपालले हिजै मुख्यमन्त्री सच्चिनुपर्ने र सांसदहरूले पनि अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने बताउँदै निर्देशन दिइसकेका थिए ।

सुर्खेतमा पनि अहिले दुवै पक्ष छलफलमा जुटेका छन् । नेता नेपालले सहजीकरण गर्न पठाएका केन्द्रीय सदस्य नीरज आचार्यले वार्ताको मध्यस्थ गरिरहेका छन् । अहिले केन्द्रीय सदस्य अचार्य, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, ध्रुवकुमार शाही, उता पूर्वमाओवादीका तर्फबाट मुख्यमन्त्री शाही, सचिव मायाप्रसाद शर्मा, सांसद विन्दमान विष्टलगायतका नेता छलफलमा छन् ।

उनीहरूले सकेसम्म १ बजेका लागि तय गरिएको बैठक रोकेर समझदारी खोज्‍ने प्रयास गरिरहेका छन् । नेपाल पक्ष सहमतिमा आए पनि ओली पक्ष भने आउन बाँकी रहेको स्रोतले बतायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org