ताजा समाचार

केपी ओलीले नै ‘जनताकाे बहुदलीय जनवाद’ छाेडेका हुन् : सुरेन्द्र पाण्डे

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कम्युनिस्ट आन्दोलन र दुई तिहाईको सरकार संकटमा परेको बताएका छन्।

पोखरामा नेकपा माधव नेपाल समूहको गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन्।

अहिले पार्टी र सिद्धान्तको बहसले नभएर ओलीको दम्भ र अहंकारले मात्र पार्टीमा विभाजनको अवस्था सिर्जना भएको पाण्डेले बताएका थिए। पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले आफूहरुले प्रधानमन्त्री ओलीलाई कुनै पनि पदबाट हट्न नभनेको बताउँदै ओलीको कार्यशैलीमा विमति रहेको जानकारी गराएका थिए।

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर चुनावमा गएकै कारणले जनताले झन्डै दुई तिहाई बहुमत दिएर पठाएको स्मरण गराउँदै पाण्डेले जनताको त्यो अभिमतको कदर गर्न पनि पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने उनको भनाई थियो।

नेता पाण्डेले नेकपा एमाले र जनताको बहुदलीय जनवादको सैद्धान्तिक बाटो केपी ओलीकै कारण छोडिएको आरोप लगाउँदै अहिले कुनै मुद्दा नपाएर जबजको कुरा गर्न थालेको बताए।

पाण्डेले भने,‘उतिबेला ओलीजी र प्रचण्ड मिलेर जबज र २१ औं शताब्दीको जनवादलाई त्यागे र जनताको जनवादलाई पार्टीको सिद्धान्त बनाए। माधव नेपाल समूहलाई थाहै नदिई नेकपा एमाले र जबज सिध्याएको होइन ? आज उनै प्रचण्डसँग झगडा गरेर एमाले ब्युताउँछु भन्दै जबजको बहस चलाउन कुन नैतिकताले दिन्छ ?’

कार्यक्रममा पूर्वमाओवादी समूहका नेता कार्यकर्तालाई आमन्त्रण नगरिएको भएपनि पाण्डेले उनीहरुसँगको सम्बन्ध सुमधुर राख्न आफ्ना पक्षका कार्यकर्तालाई निर्देशन दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org