ताजा समाचार

नेकपाको सचिवालय बैठक भोलि बस्दै : एक-अर्काविरुद्ध रणनीति बनाउँदै ओली-प्रचण्ड

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नै रणनीति बनाउन जुटेका छन्।

नेकपाको सचिवालय बैठक दश दिनपछि भोलि शनिबार बस्दै छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नेछन् ।

यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो ।

सचिवालय बैठकमा अध्यक्ष दाहालले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले आफूनिकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग समेत छलफल गरेर प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ । त्यसैगरी उनले कही तटस्थ बसेका नेताहरूसँग पनि छलफल गरेका थिए ।

उनले आफ्नो प्रस्ताव बिहीबारसम्म करिब अन्तिम रूप दिएको स्रोतको भनाइ छ ।

अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले राखेको प्रस्तावलाई लिएर कडा रूप अपनाउने वा नरम रूप अपनाउने भन्नेबारे अझै स्पष्ट खुलिनसकेको स्रोतको भनाइ छ ।

अध्यक्ष दाहाल पक्ष भने अध्यक्ष ओलीको प्रस्तावलाई अध्ययन गरेपछि आफ्नो रणनीति बुन्ने योजनामा छ ।

सत्तारुढ दल नेकपामा अध्यक्ष ओली पक्ष र अर्का अध्यक्ष दाहाल पक्षबीच एक–अर्कामा आरोप–प्रत्यारोपको क्रम निरन्तर चलिरहेको छ । दलमा दुई खेमा स्पष्ट देखिएपछि नेकपाको उच्च नेतृत्व चरम शक्ति संघर्षबाट गुज्रिरहेको छ ।

भोलि शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने अध्यक्ष ओलीको प्रस्तावपछि उत्पन्न हुने अवस्थापछि नेकपाभित्रको अन्तर्द्वन्द्वको दिशा के–कस्तो हुने संकेत देखिने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org