ताजा समाचार

‘सरकारले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भयो’: नेता नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले किसानले उत्पादन गरेका सबै वस्तुको विक्री हुने ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले किसानका उत्पादन बेच्‍ने जिम्मा लिएमा व्यवसायिक कृषि उत्पादनतर्फ युवाहरुको आकर्षण बढ्ने बताए।

‘यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास लिएको छु’, उनले भने, ‘राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भएको छ।’

नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए। नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि उनले बताए।

साना तथा घरेलु उद्यमीहरूलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उनले बताएका छन्। कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्‍याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिएका छन्।

नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरूलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनले बताए। यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्‍ने भावना बढाउन सरकारले भूमिका खेल्नुपर्ने पनि उनले जोड दिए।

नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए। नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्द्धनमा जोड दिनुपर्ने पनि उनले बताए।

जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिले पनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा पनि वरिष्ठ नेता नेपालले जोड दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org