ताजा समाचार

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने स्रोतले जनायो।

‘प्रधानमन्त्रीले आइतबार ९ बजे संवैधानिक परिषद्को बैठक डाक्नुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेन्डासहित बैठक बोलाइएको हो।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।

ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटिनसकेको र सत्तारुढ दलभित्रै पनि प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत समझदारी बनिनसकेको बताइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद्को बैठक डाकेका छन्।

अहिले बिभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन्।

रिक्त पदहरुः

राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष र ४ आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र २ आयुक्त
निर्वाचन आयोग : २ आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : ४ आयुक्त
राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त
राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त
समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त
आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त
मधेसी आयोग : चार आयुक्त
थारु आयोग : चार आयुक्त
मुस्लिम आयोग : चार आयुक्त

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org