ताजा समाचार

कपिलवस्तुमा एसपी अधिकारीले उठाइदिए ६ महिनामै अघिल्लो वर्षको ५ गुणा बढी राजश्व

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ ।

अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७६÷०७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको थियो । तर, यो आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी अघिल्लो वर्षभन्दा ५ दशमलव ६५ गुणा बढी अर्थात ३ करोड ११ लाख राजश्व उठेको छ । यो आर्थिक वर्षका ५ महिनामा मात्रै २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले अघिल्लो वर्षको तुलनामा धेरै नै राजश्व उठाउन आफूहरु सफल भएको बताए । ‘अघिल्लो आर्थिक वर्ष कपिलवस्तुबाट प्रहरीले ५५ लाख राजश्व दाखिला गरेको थियो’ एसपी अधिकारीले भने, ‘यो आर्थिक वर्षको ५ महिनामा हामीले २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाउन सफल भएका छौं ।’

एसपी अधिकारी कपिलवस्तुमा प्रहरी प्रमुख भएर गत असार ५ गने पुगेका थिए । उनी पुगेपछि अहिलेसम्म ३ करोड ११ लाख राजश्व उठेको हो । कपिलवस्तु सिमावर्ती जिल्ला हो । सिमा नाकाबाट सामान भित्र्याउने र बाहिर पठाउने गर्दा प्राय धेरै राजश्व उठ्ने गर्छ । कार्यालयको रेकर्ड अनुसार अहिलेसम्म सवारी साधन, लत्ता कपडा, किराना सामान, रागा भैसी, खसी बोका, केराउ, सुन, चाँदी र अन्य सामानको भन्सारवापत त्यती राजश्व उठेको हो ।

त्यस्तै प्रहरीले ५ महिनामा विभिन्न आरोपमा फरार रहेका ८८ जनालाई पक्राउ गरी १४ लाख ५१ हजार १४४ जरिवाना गराएको छ भने २८ वर्ष २ महिना २९ दिन कैदका लागि सम्बन्धित निकायमा पठाएको छ ।
प्रहरी कार्यालयमा अहिलेसम्म विभिन्न विभिन्न प्रकृत्तिका आत्महत्याका ५४ घटना दर्ता भएको र तीनको छानबिन भइरहेको तथ्यांकमा उल्लेख छ ।

अघिल्ला वर्षहरुमा भन्दा अहिले कसरी बढी राजश्व उठ्यो भन्दा एसपी अधिकारी भन्छन्, ‘हामीले सिमामा जाँच बढाएका छौ । कानुनको पालनामा कडाइ गरेका छौ ।’

स्थानीय र जिल्लाबासी प्रहरी प्रमुख भएर अधिकारी आएपछि जिल्लामा हत्या हिंसाका घटनामा कमी आएको बताउँछन् । उनी जिल्लामा पुगेपछि चोरी, डकैती र कानुन उल्लंघन गरेर ज्याजती गर्ने घटना कम भएका छन् ।

अधिकारी एसपीमा बढुवा भएपछि केही समय प्रहरी मुख्यालयमा बसेर पहिलो पटक जिल्लाको प्रमुख भएर कपिलवस्तु गएका हुन् । उनले आफूलाई अव्वल देखाउनका लागि पनि राम्रो काम गरिरहेका उच्च पदस्थ प्रहरी अधिकारीहरु बताउँछन् ।

तर, उनी जिल्लाको प्रमुख भएको पहिलो पटक भने होइन । उनी प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँदा दार्चुलामा जिल्ला प्रहरी प्रमुख भएका थिए । त्यहाँ रहदा पनि अधिकारीले राम्रो काम गरेका थिए । त्यसबाहेक डिएसपी हुँदा अधिकारी जिल्ला प्रहरी कार्यालय बाराको सेकेण्डम्यान भएर केही समय बसे । कालीमाटी बृत्तको प्रमुख भएर बसे भने प्रहरी एकेडेमीमा पनि बसे ।

त्यस्तै प्रहरी निरीक्षक हुँदा उनी पुल्चोक, अछाम, डडेलधुरा, कञ्चनपुरमा काम गरे । ४ वर्ष डडेलधुरामा निरीक्षकका रुपमा विताएका अधिकारीले राम्रो काम गरेको भन्दै जिल्लामा प्रशंसा बटुलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org