ताजा समाचार

दाङमा गुडिरहेको बसमा आगो लाग्यो

काठमाडाैँ । दाङमा गुडिरहेको एउटा बसमा आज आगो लागेको छ।

तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा  १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो।

बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए।

‘बसमा १२-१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि मैले सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन।’

चालक चौधरीले बसमा पुरै आगो दन्किएको र आगो निभाउनका लागि बारुण यन्त्रलाई खबर गरेपनि आइनपुगेको बताए।

‘बस त सबै ध्वस्त भइसक्छ जस्तो छ,’ चौधरीले भने ‘अब दमकल आएपनि काम छैन।’ उनले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए।

‘आगोदेखिए पछि बस रोकेर त्यो निभाउने प्रयास गर्‍यौं, तैपनि सफल भएनौं,’ चौधरीले भने।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि ब्याट्रीको वाइरिङबाट आगो  सल्किएको बताए।

‘कुनै मानविय क्षति भएको छैन,’ सिंहले भने ‘बसमा एकाएक आगो लागेपछि सावधानी पूर्वक सबै यात्रुहरू  समयमै बाहिर निस्किन सफल भए छन्।’

यसैबीच उनले घटनास्थलमा तुलसीपुर उपमहानगरपालिकाबाट दमकल पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको जानकारी दिए।

बस अम्बिकेश्वरी यातायात प्रालिको हो।

केही दिन पहिले पनि काठमाडौंबाट दाङतर्फ आइरहेको बस कपिलवस्तुमा यसैगरी आगो लागेर ध्वस्त भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org