ताजा समाचार

देशभर कांग्रेसको प्रदर्शन हुँदै, कहाँ–कहाँ सम्बोधन गर्दैछन् मुख्य नेता ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

केन्द्रीय पदाधिकारी बैठकले मुख्य नेताहरुले सम्बोधन गर्ने स्थान तोके पनि केन्द्रीय सदस्यहरु विभिन्न जिल्लाका निमन्त्रणमा त्यहाँ पुगेका छन् ।  सभापति शेरबहादुर देउवा मकवानपुरको सभालाई सम्बोधन गर्न हेटौँडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको सभालाई शान्ति बाटिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपसभापति विमलेन्द्र निधिले भक्तपुरको सभालाई सम्बोधन गर्दैछन् ।

महामन्त्री डा. शशांक कोइराला मोरङको सभालाई सम्बोधन गर्न आइतबार नै विराटनगर पुगेका छन् भने अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर देशभरका कार्यक्रमको जानकारी लिने तथा समन्वय गर्ने भूमिकामा छन् ।  सहमहामन्त्री डा. प्रकाशशण महत झापाको प्रदर्शनलाई सम्बोधन गर्न आइतबार नै त्यहाँ पुगेका छन् भने राप्रपाबाट आएर सहमहामन्त्री बनेका सुनिलबहादुर थापा आफू निर्वाचन लडेको जिल्ला धनकुटामा सम्बोधन गर्न पुगेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको सभालाई सम्बोधन गर्न आइतबार नै जनकपुर पुगेका छन् भने अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी जाने कार्यक्रम भए पनि कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंमै आराम गरिरहेका छन् ।  पूर्वउपभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोकको सभालाई सम्बोधन गर्न धुलिखेलतर्फ लागेका छन् भने पूर्वसहमामन्त्री अर्जुननरसिंह केसी कास्कीको सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् ।

केन्द्रीय सदस्य डाक्टर रामशरण महत चितवनको सभालाई सम्बोधन गर्न भरतपुर पुगेका छन् भने पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीको सभालाई सम्बोधन गर्दैछन् । यूवा नेता गगन थापा कैलालीको सभालाई सम्बोधन गर्न आइतबार नै धनगढी पुगेका छन् भने अर्का यूवा नेता प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्दैछन् ।
केन्द्रीय सदस्य एनपी साउदले अछाममा सम्बोधन गर्दैछन् भने धनराज गुरुङ गृहजिल्ला स्याङजामै सहभागी हुन लागेका छन् ।

युवा नेता गुरुराज घिमिरेले खोटाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने अर्का यूवा नेता कल्याण गुरुङले नवलपरासीमा सम्बोधन गर्दैछन् । केन्द्रका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रमार्फत नै जिम्मेवारी तोकिए पनि अधिकांश केन्द्रीय सदस्य जिल्ला कार्यसमितिको निमन्त्रणामा विभिन्न जिल्ला पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org