ताजा समाचार

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ।

यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो।

मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा छ।

‘डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ’, मौसमविद् सापकोटाले भने। यस वर्ष काठमाडौंको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ।

मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ।  दिनभर घाम लागे पनि बिहान-बेलुका बढी चिसो महशुस हुने बताइएको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। अपरान्हमा प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस छ।

त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org