ताजा समाचार

उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यवद्धता

काठमाडाैँ । राजधानीमा आन्दोलन गरिरहेका उखु किसानलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ ।

गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन्। उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्।

चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् । चिनी मिलबाट किसानहरुले करिब ८० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

सरकारसँग भएको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि उनीहरु अन्तिम लडाइँ भन्दै काठमाडौंमा आएर आन्दोलन चर्काइरहेका छन् । सरकार र उद्योगीबाट पटकपटक धोका पाइसकेकाले यसपटक भने वक्यौता रकम चुक्ता नभएसम्म आन्दोलन नरोक्ने किसानहरुको चेतावनी रहेको छ ।

यसअघि पनि उखुको वक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरुले काठमाडौं आएर आन्दोलन गरेका थिए । त्यसपछि उद्योग मन्त्रालयले गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता गरेको थियो ।

तर त्यो सम्झौताले किसानलाई छोएन । सम्झौता पत्रमा तत्काल भुक्तानीको वातावरण बनाउने, मिल मालिकको सम्पति बिक्री गरेर भएपनि सम्पूर्ण बक्यौता एक महिनाभित्र चुक्ता गर्ने आश्वासन दिइएको थियो ।

एक वर्षसम्म पनि करिब ९० करोड रुपैयाँ बक्यौता नदिइएपछि उनीहरु यसपालि कुनै पनि सहमति गर्ने मुडमा छैनन् ।

उनीहरुले उद्योग मन्त्रालयले वार्ताका लागि गरेको वाह्वान पनि लत्याएका छन् । उनीहरुले वार्ताा गर्न मन्त्रालय नआउने भन्दै बक्यौती लिएर प्रदर्शनस्थल माइतीघर मण्डलामा आउन सरकारलाई आग्रह गरेका छन् ।

किसानले उधारोमा वार्ता नगर्ने जवाफ दिँदै बक्यौता बोकेर मन्त्री नै माइतीघर मण्डल आउनुपर्ने बताएका हुन् ।

उनीहरु ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश,ठूलो छ सरकार अटेन किसान, किसान मार्न पाइदैन, श्रम र पसिनाको मुल्य पाउँ, सरकार किसानलाई बाँच्न देउ, माफियाको गुलियोमा सरकार भुलियो लगायतका मार्मिक नारा लेखेका पम्प्लेटसहित प्रर्दशनमा उत्रिएका छन् ।

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उखु किसानका समस्या समस्या समाधान गर्न छलफल जारी रहेको भन्दै एक हप्ताभित्र समस्या समाधान हुने दावी गर्छन् ।

किसानहरु अहिले पनि आफूलाई फकाउने काम नहोस् भन्दै बक्यौती लिएर जानुको विकल्प नभएको बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org