ताजा समाचार

फुट्दैमा पार्टी सकिँदैन, तर हामी बचाउन लाग्नुपर्छ : प्रचण्ड-माधव समूह

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहले फुट्दैमा पार्टी नसकिने तर बचाउनेतर्फ आफूहरू केन्द्रित हुने बताएका छन् ।

पेरिसडाँडामा भएको भेलामा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले यो धारणा राखेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संघर्षले पार्टीलाई रूपान्तरण गर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीको असहिष्णुताका कारण पार्टी गम्भीर मोडमा आइपुगेकाले पार्टी एकता बचाउनुपर्ने र त्यसतर्फ नै केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘अध्यक्ष ओलीको असहिष्णुताका कारण पार्टी विभाजनको स्थितिसम्म आइपुगेको छ । हामीसँग पार्टीलाई रूपान्तरण गर्नुपर्ने चुनौती छ । यो संघर्ष रूपान्तरणका लागि हो । फुटको चिन्ता नगरी पार्टीलाई रूपान्तरणको दिशातर्फ उन्मुख गराऔँ,’ प्रचण्डले बैठकमा भने ।

यस्तै, वरिष्ठ नेता खनालले पार्टी फुट्दैमा केही असर नपर्ने भए पनि पार्टी जोगाउन सबै केन्द्रित हुनुपर्ने बताए । ‘पश्चिम बंगालमा पनि फुटको कारण कम्युनिस्टलाई कुनै असर परेन सोभियत संघमा पनि त्यही अवस्था थियो । एकीकृत भएर बदनाम हुँदा बरु असर पर्छ तर हामी पार्टी एकता जोगाएरै रूपान्तरणको दिशामा अघि बढ्नुपर्छ,’ खनालले बैठकमा भने ।

बैठकमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले विधि र प्रक्रियाअनुसार पार्टी चल्नुपर्छभन्दा पार्टीभित्र अन्तरसंघर्ष बढेको बताए । यो अन्तरसंघर्षले फुटलाई भन्दा पनि रूपान्तरणलाई निम्तो दिएको उनको भनाइ थियो । ‘अहिलेको अन्तरसंघर्ष भनेको रूपान्तरणका लागि हो । फुटका लागि होइन विधि र प्रणाली मजबुत भए मात्रै पार्टी मजबुत हुन्छ । पार्टीमा व्यक्ति प्रधान हुँदैन,’ नेता नेपालले भने ।

एकीकृत रहेर बलियो हुँदासमेत बदनाम भएका कारण जनताका बीचमा जान सक्ने स्थिति नभएको नेताहरूको भनाइ थियो । आफूहरू पार्टी एकताको पक्षमै रहेको सन्देश उनीहरूले कार्यकर्तालाई दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org