ताजा समाचार

‘ओली सच्चिए नेकपा फुट्दैन नत्र भन्न सकिन्न’: प्रचण्ड

काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख कुओ येचौले साेमबार नेकपाका अध्यक्ष प्रचण्डसँग झन्डै डेढ घण्टा संवाद गरे ।

बिहान ९ बजे प्रचण्डनिवास खुमलटार पुगेकाे येचौको टोलीले संवादका क्रममा नेकपा विभाजनको कारण र मिलनबिन्दुको खोजीबारे विमर्श गरेकाे बताइएकाे छ ।

अध्यक्ष प्रचण्डलाई पनि येचौले आफ्ना राष्ट्रपति एवं सीपीसीका महासचिव सी चिनफिङकाे सन्देश सुनाएका छन्, ‘नेकपा फुट्न हुँदैन । मिलेरै अघि बढ्नुपर्छ ।’

प्रचण्ड सचिवालय स्रोतका अनुसार येचौले नेकपा विभाजित  नहोस्, त्यसमा चिनियाँ कम्युनिस्ट पार्टीले के सहयोग गर्नुपर्ने हो गर्छ पनि भनेका थिए । प्रचण्डसमक्ष येचौकाे भनाइ उद्धत गर्दै स्रोतले भन्यो, ‘हामी आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ । नेकपा मिलाेस्, नफुटाेस् । मिल्नबिन्दु खोजेर अघि बढ्नाेस् भन्ने हाम्रो सुझाव हो।’

स्थिर सरकार र बलियो नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको चाहना भएको उल्लेख गर्दै येचौले यसले नेपाल र चीन दुवैलाई हीत गर्ने पनि बताएका थिए ।

साथै, येचौले मिल्नसक्ने अवस्था कस्तो छ ? भनेर पनि प्रचण्डसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफमा प्रचण्डले नेकपा मिल्न सक्ने सम्भावना रहेको तर, सबै केपी ओलीको हातमा रहेको बताएका थिए । स्रोतका अनुसार प्रचण्डलले येचौसँगको छलफलमा ओलीले जुन बिन्दुमा गल्ती गरेका छन्, त्यही बिन्दुबाट सच्चिने हो भने नेकपा विभाजनबाट रोकिन सक्ने उल्लेख गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org