ताजा समाचार

पोखरेल र गुरुङ नेकपा लुम्‍बिनी र गण्डकीको इन्चार्जबाट आउट, ज्ञवाली र पौडेल इन

काठमाडौँ। पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्व नेकपाको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्‍चार्जबाट शंकर पोखरेललाई हटाएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पोखरेललाई हटाएर लुम्बिनी प्रदेशको इन्‍चार्जमा युवराज ज्ञवालीलाई तोकेको छ ।

त्यस्तै गण्डकी प्रदेशको इन्‍चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई हटाएको छ । गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई इन्‍चार्ज तोकिएको छ ।

त्यस्तै पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ । पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो ।

टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल,जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारेमा तथा पार्टी संगठनको एकिकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।

त्यसैगरी बैठकले सरकारको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुध्‍द गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समिक्षा गर्दै पौष १८ गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले असंवैधानिक कदमविरुध्‍द अन्य राजनीतिक पार्टीहरु सँग पनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्‍ने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गरिएको र सह-संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई दि‍एको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनकोअसंवैधानिक कदमविरुध्‍दको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलन विरोधीलाई परास्त पार्न दृढतापूर्वक अघि बढ्न आव्हान गरेको श्रेष्ठले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org