ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । यसपटकको अध्यक्षता पार्टीका समान वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष नेपालले जानकारी दिएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ । तर, आन्दोलन सोचेअनुरूप उठ्न नसकेको, जन सहभागिता न्यून हुँदै गएको र जनतालाई आन्दोलनमा ल्याउन नसकेको समीक्षा भइरहेको छ ।

संसद् विघटनको घोषणालगत्तै पुस १४ गते व्यापक रूपमा जनसहभागितासहितको प्रदर्शन गरिए पनि त्यसयता उपत्यकाको आन्दोलन कमजोर बनेको स्थायी कमिटी सदस्यहरूले बताएका छन् ।

बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए ।

आजको बैठकले जनप्रदर्शनसहितका थप कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुनेछ । पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन् ।

केन्द्रदेखि जिल्ला तहसम्मका सबै कमिटीमा एकैसाथ जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको नेकपाको भनाइ छ । यसअघि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मात्रै इन्चार्ज तोकिएको थियो । अब सबै तहका कमिटीमा नयाँ जिम्मेवारी तोकिने नेकपाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org