ताजा समाचार

प्रदेश १ को हिउँदे अधिवेशन : नेकपाका दुवै पक्ष आक्रामक

काठमाडाैँ । आज दुई बजे सुरू हुने प्रदेश १ संसदको सातौं तथा हिउँदे अधिवेशनमा सत्तारूढ नेकपाका दुई समूह एक अर्कालाई निषेध गर्ने तयारीमा लागेका छन्।

प्रदेशसभाको एकै लहरमा सिट व्यवस्थापन गरिएको भए पनि नेकपाका प्रचण्ड नेपाल र ओली समूहले सदनमा एक अर्काविरूद्ध आक्रामक बन्ने घोषणा गरिसकेका छन्। प्रदेशसभामा अधिवेशन सुरू र अन्त्य हुँदा सबै दलका नेताले सदनलाई सम्बोधन गर्ने चलन छ। तर, यसपटक नेकपा विवादकै कारण नेताको सम्बोधन नहुने सम्भावना छ ।

नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको रूपमा स्वीकार नगर्ने भन्दै सो हैसियतमा बोल्न नदिने अडान राखेको छ। ‘दलका बहुमत सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर नयाँ नेता पनि विधिसम्मत रुपमा छानिसकिएको छ,’ प्रचण्ड नेपाल समूहका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘त्यसैले शेरधन राई हाम्रो दलको नेता होइनन्। भीम आचार्य हाम्रो दलको नेता हो, उहाँले सम्बोधन गर्नुहुनेछ।’

उता ओली समूहले भने मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका प्रचण्ड नेपाल समूहका १६ जनालाई सदनमा प्रवेश नै नदिने बताउँदै आएको छ। ‘निलम्बनमा परेकाहरू सदनमा प्रवेश गर्न पाउनुहुने छैन,’ ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सेतोपाटीसँग भने, ‘दलको नेताको हैसियतमा गरिएको कारबाही लागू हुनेछ।’

पुस १२ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास दर्ता भएपछि एकअर्काविरुद्ध कारबाहीको होड चलाएका नेकपाका दुई समूहको तनावको असरले प्रदेशसभामा प्रभाव पर्ने निश्चितप्राय: छ। मुख्य विपक्षी नेपाली कांग्रेसले सदनलाई सौहार्द्र रूपमा अघि बढाउन माग गरेको छ। ‘हामी सदन निर्वाध अघि बढेको हेर्न चाहन्छौ’, काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘नेकपा विवादको असर नपरोस् भनेर हामीले सम्बन्धित पक्षलाई भनिसकेका छौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org