ताजा समाचार

‘पदको लोभ गरेर सत्ताको पक्षमा उभिएकाहरू दलाल हुन्’:प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी शक्तिको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेका नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले नेपाली जनताले ७० वर्षपछि प्राप्त गरेको उपलब्धिमाथि क्रुर प्रहार गरेका अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आरोप लगाए। ‘नेपाली जनताले प्राप्त गरेको उपलब्धिमाथि देशभित्र सामन्ती र निरंकुशतावादी र देश बाहिर दक्षिणपन्थी शक्तिको डिजाइनअनुसार ओलीले संविधानको हत्या गरे’, उनले भने।

पहिलो पटक नेपाली जनताले पाएको सार्वभौम अधिकारमाथि ओलीले प्रहार गरेका उनले बताए। ७० वर्षपछि प्राप्त भएको उपलब्धिलाई जोगाउन जनता जुर्मुराएपछि आफूहरुलाई सडक आन्दोलनमा उत्रिन प्रोत्साहन मिलेको पनि उनको भनाइ थियो।

‘पार्टी एकता हाम्रो प्रस्ताव भएको हो। केपी ओली वाम गठबन्धनको पक्षमा पनि थिएनन्’, उनले भने, ‘वामगठबन्धन र पार्टी एकता गर्दा धेरै खुसी मिलेको थियो। तर, ओली खुसी थिएनन्। ओलीले प्रधानमन्त्री दिन्छु भनेपछि सहमति भएका थिए।’

संविधान जारी भएपछि नेपाल नयाँ युगमा गएर प्रवेश गरेको विश्वास गरेपछि ओलीको निरंकुश शैलीको कारणले संकटमा परेको बताए। ‘संविधान निर्माणपछि समाजवादको बाटोमा जाने भयो। न्याय र अधिकार पाउने अपेक्षा थियो’, उनले भने, ‘ओलीले संविधानमाथि प्रहार गरे। ओली निरंकुश बाटोमा लागे। पहिले पनि तानाशाह र निरंकुशतासँग लडेका थियौँ। अब ओलीप्रवृत्तिसँग एकजुट भएर लाग्नुपर्ने दिन आएको छ।’

संसद भंग गर्नु कम्युनिस्ट आन्दोलन र संविधानमाथि नै प्रहार गर्नु भएको उनले आरोप लगाए। ‘केपी ओलीसँग अब मान्छे छैनन्। केही भ्रम र लोभमा परेर गएका छन्’ उनले भने, ‘केही बीच भएका र भ्रममा परेकालाई आफ्नो पक्षमा ल्याउने पहल गर्नुपर्छ। लोभमा परेर गएका दलालहरु नर्फकिए संगठन राम्रो हुन्छ।’

प्रतिगमनविरुद्ध आन्दोलन सुरु भइसकेको र जनता पनि ओलीको कदमविरुद्ध लागिसकेका उनले बताए। ‘ओलीले इतिहासमा कलंकको टीका लगाइसकेका छन्। ओलीले हारिसके’, उनले भने, ‘ओली आफ्नो गुटमा मात्रै सीमित भइसके। सत्ता र पदको दुरुपयोग गरेर आफ्नो पक्षमा ल्याएकाबाहेक अरु कोही छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org