ताजा समाचार

प्रचण्डविरुद्ध परेको अदालत अवहेलना मुद्दामा सुनुवाइ आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले अवहेलना मुद्दा दर्ता गराएका हुन्। प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ।

अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा प्रचण्डले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर रिट निवेदनमा गरिएको छ।

सर्वोच्चमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ। उनीहरुलाई बिहीबार अदालतले ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org