ताजा समाचार

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता-दाबी बुझायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले २७५ जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकताको दाबी बुझाएको छ ।

मंगलबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४३ अनुसार पार्टीका नाम, चुनाव चिह्न, झन्डा आदि माग दाबी गर्दै निवेदन दर्ता गरेर फर्किएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

“अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेतासहित १५–२० जनाको समूह निर्वाचन आयोगमा पुगेर आधिकारिक माग दाबीसहितको निवेदन प्रस्तुत गरेका छौँ,” खनालले भने, “यसअघि, हामीले विवरण अद्यावधिक गर्न भनेका छौँ । आधिकारिकता दाबी पहिलोपल्ट गरेका हौंँ ।”

खनालका अनुसार प्रचण्ड–नेपाल समूहले पुस ५ गतेयता बसेका दुईवटा केन्द्रीय कमिटीको बैठकको निर्णय, त्यसको प्रतिलिपि, तेस्रो केन्द्रीय कमिटी बैठक उपस्थित दुईतिहाइ केन्द्रीय सदस्यको हस्ताक्षर, पुस १९ गते बसेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णयसहित अधिकारिकता–दाबी गरिएको उनले बताए ।

“आयोगले हामीलाई अनुसूचीअनुसार दर्ता गरेर जानुस् भन्यो । हामीले प्रमुख आयुक्तसँग पनि लामो छलफल ग¥यौँ । हामी नै आधिकारिक पार्टी हौँ । हामीसँग बहुमत छ भन्यौँ,” उनले भने, “प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोग प्राप्त प्रमाण, तथ्यलाई टेकेर छिटो निष्कर्षमा पुग्छौँ भनेर जवाफ दिनुभएको छ ।”

खनालले पार्टी बल्ल दाबी गर्ने ठाउँमा पुगेको बताए । “हामीले बल्ल दाबी गरेका छौँ । दाबीलाई ध्यानमा राखेर आयोगले प्रशासनिक र न्यायिक निर्णय गर्नुपर्छ । आयोग त्यो ठाउँमा पुगेको,” उनले भने, “अब आयोगका सामु न्यायिक निर्णय दिने घडी आइपुगेको छ । ऊ उम्कन पाउँदैन ।”

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको बताए । आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई नै मान्यता दिएको थियो । अहिले नेकपामा राजनीतिक नियुक्ति खाएका र मृत्यु भएकाबाहेक ४३४ सदस्य बहाल छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org