ताजा समाचार

संविधान नै मास्न खोजेपछि आमहड्ताल गर्न बाध्य भइयोः माधव नेपाल

काठमाडाैँ । देशव्यापी आमहडताल गरेको नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमन नसच्चिए उनको सत्ताच्यूतका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा आमहडतालमा सहभागी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले ओलीको बढ्दो  तानाशाही प्रवृत्तिको अन्त्य र उनको सत्ताच्यूतको लागि  शक्तिशाली आन्दोलन गरिने बताएका हुन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संघीयता धर्मनिरपेक्षा समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका उपलब्धीसहित संविधान नै मास्न खोजेकाले आमहडताल गर्न बाध्य भएको बताए ।

‘ओलीलाई संघीयतासँग सरोकार छैन । समानुपातिक प्रतिनिधित्वमा गम्भीर छैनन् । संवैधानिक आयोगको नियुक्ति नै गलत छ । यस्ता गलत काम सच्याउनका निम्ती हामी आमहडताल गर्न बाध्य भयौं,’ उनले भने ।

आमहडतालबाट गरिखाने वर्गलाई असुविधा पुगेकोप्रति उनले क्षमा समेत मागेका छन् । ‘तपाईंहरुलाई पर्न गएको असुविधाप्रति म क्षमा माग्न चाहान्छु । तपाईंहरुको एक दिनको धैर्यताले निरंकुश र तानाशी शासकलाइ खबरदारी पुग्नेछ,’ उनले भने ।

आफ्नो पार्टीले आयोजना गरेको हरेक कार्यक्रममा जनआन्दोलनको झल्को आएको भन्दै उनले ओलीले आफ्ना कदम नसच्चाए उनलाई हटाउने गरी आन्दोलन गरिने बताए ।

‘अब निरंकुश र तानाशाही प्रवृत्ति धेरै सहने पक्षमा हामी छैनौं । आन्दोलनले तेस्रो जनआन्दोलनको झल्को दिएको छ । हामी निरंकुश र तानशाही बन्दै गएका ओलीलाई आन्दोलनमार्फत नै सडकमा ल्याउनेछौं,’ उनले भने ।

प्रतिगमन सच्याउने उद्देश्यसहितको संयुक्त आन्दोनलनका लागि अन्य राजनीतिक दल र नागरिक समाजसँग छलफल भइरहेको नेपालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org