ताजा समाचार

प्रधानमन्त्री ओली पर्वत आउने कार्यक्रम स्थगित

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पर्वत आउने कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्री आउने भनी केही दिन अगाडिबाटै प्रचारप्रसारसहित सब स्टेसनमा भव्य तयारी गरिएको भए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हो।

ओली पक्षको नेकपाका केन्द्रीय सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीका अनुसार प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण पर्वत आउने कार्यक्रम रोकिएको हो।
सुरक्षा थ्रेटका कारण प्रधानमन्त्री आउने नसक्ने अवस्था भएको हो? भन्ने प्रश्नमा केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्री वा अरू कसैलाई पनि सुरक्षा थ्रेट नरहेको तर कार्य व्यस्तताका कारण नै पर्वत आउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘होइन होइन सुरक्षा थ्रेटका कारण उहाँ आउन नसक्ने अवस्था भएको होइन। सुरक्षा थ्रेट छैन। थ्रेट भएको भए त यो कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि त आउनु हुने थिएन नि’ गिरीले भने, ‘उहाँको कार्य व्यस्तताका कारण अन्तिममा यता आउने कार्यक्रम रोकिएको हो।’

संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले देशव्यापी रूपमा हडतालको आह्वान गरेकै दिन बिहीबार प्रधानमन्त्री के.पी. शर्मा ओली पर्वत आउँदा सुरक्षा जोखिम हुने भएकाले प्रधानमन्त्री ओली आउने कार्यक्रम रोकिएको धेरैको अनुमान छ।

प्रधानमन्त्री ओली नआउने भएपछि पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०-१३२ केभी सबस्टेशन, खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०-१३२-३३ केभि सबस्टेशनको उद्घाटन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गर्ने भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org