ताजा समाचार

‘हामीलाई किन चाहियो इन्डिया गेट र लालकिला चामल ?: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आनीबानी बिग्रिएकाले अनावश्यक रुपमा कृषि उपजहरुको आयात भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पर्छ । कृषि क्षेत्र हाम्रो जनसंख्यासँग व्यापक रुपमा जोडिएको छ । कृषिको आधुनिकीकरण हुन पऱ्यो । कृषिमा आधुनिक प्रविधि प्रयोग गरी आत्मनिर्भर बनाउनका लागि उत्पादन र उत्पादकत्व बढाउन पऱ्यो । तब मात्र नेपाल कृषि उपजहरुको निर्यातक देश हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरुले स्वाङ पार्न थालेको पनि बताए । उनले भने, ‘हामीले स्वाङ पार्न थालिसक्यौँ । हामीले अर्बौंको कृषि बस्तु आयात गरिरहेका छौं । हामीलाई लालकिला भन्ने लामो सिता भएको चामल चाहिएको छ । हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो इन्डिया गेट चाहियो ?’

प्रधानमन्त्री ओलीले खाद्यान्नको अभाव भएरभन्दा पनि आनीबानी बिग्रिएर त्यस्ता चामलहरुको आयात हुन थालेको बताए । उनले भने, ‘यस्ता चामलहरु हामीले खाद्यान्न नपुगेर होइन आनीबानी बिग्रेर आयात गरिरहेका छौँ । हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका छौँ । त्यो अवस्थालाई पनि बदल्नु पर्छ । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org