ताजा समाचार

जनता उठेपछि सब सेटिङ भत्किन्छन् : प्रचण्ड

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनकारीहरूका सबै सेटिङ जनताले भत्काइदिने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले अदालतमा केस छ, निर्वाचन आयोगमा केस छ । हल्ला पनि छ सेटिङ छ रे भन्ने छ। सबैभन्दा ठूलो सेटिङ जनता हुन् । जनता उठेपछि सव सेटिङ्हरु भत्किन्छन् । कसैलाई लागेको छ सेटिङ् अनुसार फैसला हुने र नेपाली जनताले खुरु खुरु मान्छन् भन्ने त्यो भ्रम हो ।’

प्रचण्डले ढिलो–चाँडो प्रतिगमनविरुद्ध आमजनता सडकमा आउने स्थिति बन्ने दाबी गरे । ‘दुई–चार दिन ढिलो–छिटो हो, जनता आमरूपमा सडकमा आउने स्थिति बन्छ र यो निरंकुशता परास्त हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन उल्टाउन सक्ने नेपाली जनता, युद्धलाई शान्तिमा रुपान्तरण गर्न सक्ने जनताले यो तानाशाहीलाई स्वीकार गर्छन् भन्ने लाग्दैन,’ उनले भने ।

प्रचण्डले संविधान मिचेर गरिएको चुनाव पनि असंवैधानिक हुने बताए । ‘संविधान मिचेको मिच्यै गरेर गरिएको चुनाव पनि असंवैधानिक हो । त्यसले समस्याको हल दिँदैन । त्यो भ्रम पनि कसैले नपाले हुन्छ,’ प्रचण्डले भने, ‘प्रतिगमन हुने, असंवैधानिक र अलोकतान्त्रिक हुने अनि त्यसले नै गरेको चुनाव संवैधानिक र लोकतान्त्रिक हुन्छ त ? नेपाली जनताले खुरुखुरु मान्छ त ? मान्दैन ।’

संविधान र लोकतन्त्रको हत्या गर्ने प्रयास ओलीबाट भएको भन्दै त्यसलाई ‘करेक्सन’ नगरेसम्म आन्दोलन जारी रहने प्रचण्डको भनाइ छ । उनले अहिलेको आन्दोलनमा युवा पुस्ता जोडिएको र यो लोकतन्त्र अनि राष्ट्रका लागि सकारात्मक भएको बताए ।

‘कता–कता के–के होलाजस्तो डर लागेको थियो । तर, यो प्रतिगमनपछिको आन्दोलनमा युवा पुस्ता जोडिएको छ । युवाहरू फेरि लोकतन्त्र र राष्ट्रप्रति जागरूक हुने अवस्था बनेको छ । हामी त जीवनको उत्तरार्धतिर छौं,’ दाहालले भने, ‘अहिले हामीले गर्न चाहेको युवाहरूकै लागि हो ।’

अहिलेको आन्दोलन नेकपाभित्र पद पाउनका लागि नभएर लोकतन्त्र र संविधान बचाउन भएको दाबी दाहालले गरे । ‘यो नेकपाभित्र पद पाउने लडाइँ हुन्थ्यो भने यो देशका वेस्ट ब्रेन एक ठाउँ आउने थिएनन् । यो प्रतिगमन नै हो भनेर सबै आन्दोलनमा छन् । यो राम्रो कुरा हो,’ उनले भने ।

अर्को एक प्रसंगमा प्रचण्डले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग इमानदारीपूर्वक वार्ता गर्न चाहेको भए त्यो सकारात्मक भएको र त्यसको पक्षमा आफूहरू रहेको बताए । तर, वार्ताअघि यही सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org