ताजा समाचार

प्रचण्डले पार्टी फुटाएर वामपन्थी इतिहासमा सबैभन्दा ठूलो भूल गरेः मन्त्री थापा

काठमाडाैँ । नेकपा ओलीसमूह निकट पेशागत महासंघ नेपालको हिजो सम्पन्न राष्ट्रिय भेलामा पूर्व माओवादीबाट कित्ताकाट गरी खानेपानी मन्त्री बनेका मणि थापाले नेकपा बिभाजनको दोष आफ्ना पूर्व सुप्रिम कमाण्डर प्रचण्डमाथि लगाएका छन ।

कार्यक्रमलाई अर्थमन्त्री तथा उक्त समूहका महासचिव विष्णु पौडेलले सम्बोधन गर्दै पार्टी विभाजनको दुस्साहस निरर्थक हुने र मूल पार्टी छाडेर गएका साथीहरू बिस्तारै फर्कने धारणा राख्नुभएको थियो । संगठनलाई एकताबद्ध राख्न सहभागी पेशाकर्मी संघ संगठनलाई निर्देशन दिँदै मन्त्री पौडेलले भने ‘पदीय महत्वाकांक्षाले पार्टीभित्र विचलन आएको हो,यसमा सैद्धान्तिक कुरै छैन ।’

उनले प्रतिनिधिसभा विघटनको प्रस्तावलाई सर्वोच्च अदालतले सदर गर्ने विश्वाससमेत व्यक्त गर्दै पेशागत महासंघको हकहित र उचित मांग पूरा गर्न सरकार तयार रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीबाट केही महत्वपूर्ण व्यक्ति अलग भएकाले त्यसको असर पार्टी र शुभेच्छुक संघ,संस्थामा परेको स्वीकारे । पार्टी एकता सम्पन्न गर्नेतर्फ पुष्पकमल दाहाल प्रचण्डले कुनै चासो नदेखाएकाले एकताले पूर्णता नपाएको उनको आरोप थियो । पोखरेलले भने ‘प्रचण्ड एकताको बाटो छाडेर समिकरणको बाटोमा लागेकाले आजको राजनीतिक संकट उत्पन्न भएको हो । प्रथम अध्यक्ष र महासचिव आफूहरूसँगै रहेकाले आधिकारिक नेकपा ओली समूह नै हो ।’

कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले आन्दोलनको नाममा सडकमा पुगेको नेकपाले मुलुकलाई द्वन्द्वतर्फ लैजाने कुचेष्टा गरिरहेको प्रचण्डले बेला बेलामा व्यक्त गरेका धारणाबाट स्पष्ट भएको बताए ।

उनको तर्क थियो ‘पूर्वमाओवादीभित्र मौलाएको प्रवृत्तिलाई प्रचण्डले नेकपाभित्र ल्याउन खोजेपछि अहिलेको अवस्था आएको हो,तत्कालीन माओवादी पार्टीलाई फुटाएर सँधै सत्तामा रमाउँदै आएका प्रचण्डले नेकपालाई पनि टुक्राएका छन् । यो वामपन्थी इतिहासमा सबैभन्दा ठूलो भूल हो ।’ थापाले पार्टी छोडेर बाहिर गएकालाई आफूले गरेको गल्ती स्वीकार गरी मूल नेतृत्वमा आए क्षमा गर्न सकिने धारणा राख्दै भने ‘बाटो बिराएकाहरू मूल पार्टी ओली समूहले नेतृत्व गरेको नेकपामा आउनुहोला ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org