ताजा समाचार

प्रतिनिधि सभा विघटनको मुद्दा– माघ ३० गतेभित्र बहस सकाउन प्रधानन्यायाधीशको आग्रह

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि चलिरहेको बहस माघ ३० गतेसम्ममा सकाउन आग्रह गरेका छन् ।

आइतवार सरकारी वकिलको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले माघ ३० गतेसम्म बहस सकाउन आग्रह गरेका हुन् ।

सरकारी वकिलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विपक्षीहरूले राखेका निजी वकिलहरूको बहस शुरू भएको छ ।

ओलीका तर्फबाट रमेश बडालले बहस शुरू गर्ने क्रममा प्रधानन्यायाधीश जबराले यसै साता बहस सक्नुपर्ने बताएका हुन् ।

बढीमा ३० मिनेट समय लिनुस् भन्दा बडालले बढी समय मागपछि प्रधानन्यायाधीश जबराले भने- ‘यो मुद्दाले धेरै समय खाइसक्यो, एक साताभित्र बहस सक्नुपर्छ ।’

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा माघ ४ गतेदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।  माघ १८ गतेसम्म रिट निवेदक पक्षका वकिलले बहस गरेका थिए ।

सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले बहस गरेका थिए । प्रधानमन्त्री ओलीका निजी वकिल र सभामुखका निजी वकिलहरूले बहस सकेपछि एमिकस क्युरीका ५ जनाले बहस गर्नेछन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस गरेका बडालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गरेर ताजा जनादेशमा जान पाउने जिकिर गरे । यसअघि ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेको लागि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org