ताजा समाचार

प्रधानमन्त्री ओ‌लीको प्रश्न- निर्वाचन हुँदा प्रतिगमन हुन्छ ?

काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले जनताले आफूप्रति गरेको विश्वास पूरा हुन नदिन खोजिएपछि निर्वाचनतर्फ गएको बताएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जनताले आफूप्रति गरेको विश्वास र जनताका बीचमा आफूले गरेका कबुल पूरा हुन नदिएपछि आफूले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

उनले जनादेशका लागि जनताको बीचमा जाँदा प्रतिगमन नहुने बताए । निर्वाचनमा जानुलाई प्रतिगमन भन्ने हो भने यसलाई रोक्नै नसकिने उनले बताए ।

‘प्रतिनिधिसभाको विघटन आर्थात् विघटको सिफारिसलाई संविधानको विपरित, जनादेशको अबहेलना र प्रतिगमनजस्ता आपत्तिजनक आरोप लगाइएको मैले सुनेको छु,’ उनले भने, ‘उहाँहरु के लाई प्रतिगमन भनिरहनुभएको छ ? के हो प्रतिगमन भनेको ? निर्वाचन हुँदा प्रतिगमन हुन्छ ?’

उनले बैशाखमा निर्वाचन हुने उल्लेख गर्दै आयोग र सरकार त्यसको तयारीमा रहेको बताए । बैशाखमा निर्वाचन सम्भव छैन भन्नेहरुलाई ओलीको प्रश्न थियो– राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?

‘मैले बैशाख १७ र २७ मा निर्वाचन गर्छु भनिरहेको छु, आयोग त्यसको तयारीमा छ,’ उनले भने, ‘उहाँहरु राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?’

उनले विजयी हुनेलाई काम गर्न नदिने र पराजित हुनेले पराजित भएको ठाउँ नै मलाई चाहियो भन्ने गरेकोले समस्या निम्त्याएको बताए ।

‘आफू र आफ्नो स्वार्थलाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रणाली र मूल्य मान्यतालाई धरापमा कार्ने कार्य कदापी उचित हुँदैन,’ उनले भने, ‘त्यसैले मैले ताजा जनादेशका लागि निर्वाचनको बाटो रोज्नु विधिसम्मत हो ।’

नेकपाभित्र भइरहेका गतिविधि अस्वस्थ र अलोकतान्त्रिक भएको उल्लेख गर्दै उनले त्यो संविधानसम्मत नभएको बताए । ‘नेकपाभित्र नेताहरुबाट जुन खालका अस्वस्थ गतिविधि भइरहेका छन् ती अलोकतान्त्रिक र गैरजिम्मेवार छन् । ती संविधानसम्मत हुने कुरै छैन,’ उनले भने ।

उनले निर्वाचनमा जाँदा पार्टी विभाजित गर्ने नभए एकता कायम हुने बताए । ‘निर्वाचनमा जाने भनेको पार्टीलाई एकजुट बनाउने हो, अरु पार्टीलाई पनि एकजुट बनाउने हो,’ उनले भने, ‘लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीलाई विभाजित गराउँदैन, बरु एक बनाउँछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org