ताजा समाचार

प्रतिनिधि सभा विघटन मुद्दामा एमीकस क्यूरीको बहस शुरू

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी अर्थात् एमीकस क्युरीको बहस शुरू भएको छ।

बहस केहीबेर अघि शुरू भएको सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए।

पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमीकस क्यूरीले बहस शुरू गरेका हुन्। कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ।

सर्वोच्चको माग अनुसार नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले पाँच जना एमिकस क्युरी सिफारिस गरेको थियो। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्‌।

​उनीहरूले रिट निवेदनका विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्नेगरी स्वतन्त्र विचार दिनुहुनेछ। एमीकस क्युरीको बहस सकिएपछि अदालतले मुद्दा फैसला गर्नेछ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १३ वटा रिट परेका छन्। रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org