ताजा समाचार

१७ र २७ वैशाखको निर्वाचनका लागि अन्तरिक तयारी पूरा भइसक्यो : निवार्चन आयोग

काठमाडाैँ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको १७ र २७ वैशाखको निर्वाचनका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार पाँचौ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १७ र २७ वैशाखमा हुने चुनावको आन्तरिक तयारी पूरा भएको जानकारी दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले २१ फागुनमा मतदाता नामावली प्रकाशन गरेर देशभर मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाइने बताए ।  निर्वाचन सामग्रीको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको बताए ।

निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्न सामाजिक सञ्जालसम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको थपलियाले बताए । ‘आउँदो निर्वाचनका लागि हामीले आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । २१ फागुनमा मतदाता नामावली प्रकाशन गरिनेछ । देशभर मतदानस्थल र मतदान केन्द्रको निधो गरिनेछ,’ उनले भने।

निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुन नहुने उनले बताए । निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए । उनले आगामी निर्वाचनलाई मितव्ययी बनाउन आयोग सचेत रहेको बताए ।

निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै थपलियाले निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताए ।

उनले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुने विश्वास पनि व्यक्त गरे ।

निर्वाचन आयोगले ७ फागुनमा निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. ७ फागुन, २०१५ मा मतदाताहरूले आमनिर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी ७ फागुनमा निर्वाचन दिवस मनाउन थालिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org