ताजा समाचार

विप्लवलाई वार्ताका लागि आह्वान गर्ने सरकार तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेको छ ।

विप्लवले शनिबारमात्रै एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए । लगत्तै सरकारको यस्तो धारणा आएको हो ।

वर्तमान सरकारमा रहेका एक मन्त्रीका अनुसार सरकारले विप्लव समूहलाई औपचारिक रूपमा वार्ता आह्वानको तयारी गरेको छ । एक–दुई दिनभित्रै वार्ता–आह्वान गरिने उनले जानकारी दिए । सरकारले पहिले वार्ताका लागि आह्वान गर्ने र त्यसपछि प्रतिबन्ध फुकुवाको तयारी गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि विप्लव समूह वार्तामा बस्न तयार भए आवश्यक वातावरण बनाउने जानकारी दिए । “उहाँहरू शान्तिपूर्ण धारमा आउन चाहेमा सरकारले आवश्यक सबै वातावरण मिलाउँछ,” ज्ञवालीले  भने ।

वर्तमान सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता सरकारले विप्लव समूहमाथि धरपकड तीव्र बनाएको थियो । तर, पछिल्लो समय भने सरकारले विप्लव समूहसँग अनौपचारिक वार्ता–संवाद प्रक्रिया अघि बढाएको थियो ।

गएको माघ २० गते खानेपानीमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली भेट्न पुगेका थिए । सरकारले विभिन्न माध्यमबाट वार्ताको प्रयास गरेपछि विप्लव समूहले पनि वार्तामा बस्न राजी भएको सन्देश पठाएको बुझिएको छ ।

“हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ,” विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org