ताजा समाचार

प्रचण्ड-नेपालले भनेः अब मिलेर जाऔं , देउवाको जवाफः पार्टीमा छलफल गरेर जवाफ दिन्छौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुगेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । करिब आधाघण्टासम्म चलेको छलफल राम्रो भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ‘सर्वोच्चको फैसला र आगामी राजनीतिक प्रक्रियाको विषयमा राम्रो कुराकानी भएको छ’, सापकोटाले भने ।

कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार प्रचण्ड र नेपालले देउवालाई अब मिलेर जानुपर्छ भन्ने प्रस्ताव गरेका छन् । देउवाले प्रचण्ड र नेपालले फेरिएको राजनीतिक अवस्थामा मिलेर जानुपर्छ भन्ने विषयमा गरेको प्रस्तावमा आफू सकारात्मक रहेको जानकारी दिएका छन् । छलफलमा देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफू निर्णयमा पुग्ने प्रष्ट पारेका छन् ।

‘उहाँहरुले सँगै मिलेर जानुपर्छ भन्नुभएको छ’, देउवाले भने, ‘पार्टी सभापतिले ठिकै छ । म पनि पार्टीमा छलफल गर्छु अनि फेरि भेटौंला र छलफल गरौँला भन्नुभएको छ ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।

मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेपछि प्रचण्ड र नेपाल सत्ता गठबन्धनका लागि छलफलमा जुटेका छन् । सोहीक्रममा देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org