ताजा समाचार

सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाका सर्तः संविधान संशोधन र रेशम चौधरीको रिहाइ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ ।

आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ । छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ । विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

जसपा नेपालले साझा एजेण्डाको माग पनि गरेको छ । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org