ताजा समाचार

डेरावालले घरवालालाई निकालेजस्तो हो, यसको खासै तुक र अर्थ छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन पहिले नेकपाको संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका सांसद एवं केन्द्रीय सदस्य विशाल भट्टराईलाई नेकपाको प्रचण्ड-माधव पक्षले बुधबार केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्‍यो।

भट्टराईसँगै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिनाका निलम्बन गर्ने प्रचण्ड-माधव पक्षको निर्णयको भने कुनै अर्थ नरहेको भट्टराईले प्रतिक्रिया दिएका छन्।

उनले आफूहरूलाई गरिएको कारबाही डेरावालले घरवालालाई निकालेको जस्तो भएको टिप्पणी गरे। ‘यसको खासै तुक र अर्थ छैन। यसमा हाम्रो धेरै ध्यान पनि जाँदैन’, भट्टराईले  भने, ‘यो त डेरावालले घरवालालाई निकालेँ भने जस्तै हो। यसको कुनै तुक छैन।’

भट्टराईले प्रचण्ड-माधव पक्षको कारबाहीलाई आफूले सामान्य रुपमा लिएको बताउँदै यसको कुनै प्रतिवाद नगर्ने बताए। ‘अर्थ नभएको चिजको के प्रतिवाद गर्नु। यसलाई मैले असाध्यै सामान्य रुपमा लिएको छु। कानुनी, व्यवहारिक र कुनै हिसाबले पनि त्यसको केही अर्थ छैन।’

नेकपाको प्रचण्ड-माधव पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सात नेतालाई पार्टीविरोधि काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उनी सबै ओली समूहमा छन्।

यस्तै, बैठकले सुवास नेम्वाङलाई नेकपा संसदीय दलको उपनेता र शान्ता चौधरीलाई सचेतकबाट हटाउने निर्णय पनि गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org