ताजा समाचार

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार दिउँसो बस्ने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाइएकाले समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने बुढानिलकण्ठ स्रोतले जनाएको छ।

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। बुधबार कांग्रेसले जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन दिएको थियो। कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारिक रुपमै काठमाडौं बाहिर नजान र नगइ हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका हुन्।

सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा अभिव्यक्त गरेका छन्। सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिएका छन् भने प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिएका छन् वरिष्ठ नेता पौडेल।

बुधबार चितवनमा देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे। ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपाईंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो। अरू पार्टीभन्दा आफ्नै पार्टीको भए तपाईंलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ। तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनुहुन्न होलाजस्तो लाग्छ। अरू हुने शेरबहादुर हुनै हुन्न भन्ने होइन होला’, देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी, विशाल हृदय राख्नुहोस्, चित्तै सानो छ, रामचन्द्रजीको भन्ने विश्वास भो। त्यस्तो नगर्नुस्। ’

पौडेलले कांग्रेस सानो संख्यामा भए पनि भूमिका ठूलो रहेकाले लोकतन्त्र रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए। ‘आफ्नो हैसियतभन्दा बढी आकांक्षा राख्नु विकृति हो’, पौडेलले भने, ‘कांग्रेस सानो संख्यामा छ। तर, भूमिका ठूलो छ। प्रतिपक्षीको भूमिका सही तरिकाले निर्वाह गर्न सकियो भने मात्र लोकतन्त्रको रक्षा गर्न सकिन्छ।’

डा. शशांक कोइरालाले निर्वाचन गराउने गरी कांग्रेस सरकारमा जानुपर्ने बताएका छन्। कांग्रेस सरकारमा नगई पनि नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने उनको भनाइ थियो। उनले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org