ताजा समाचार

प्रतिपक्ष दलको नेता वेटिङ प्राइममिनिष्टर हो, तर म प्राइममिनिष्टरको रेसमा छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन्।

शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भएपनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको बताए। ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म यो दौडमा छैन,’ उनले भने।
नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उनको भनाई छ। ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौं’ देउवाले भने, ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन बोलाएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रचण्ड-नेपाल समूहले कांग्रेसको साथमा अविश्वासको प्रस्ताव ल्याउने र देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने योजना बनाएको छ। तर कांग्रेसले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक–फरक धारणा आइरहेका छन्। अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै नेतृत्व हुनुपर्ने पक्षमा देखिएका छन्। कांग्रेस सभापति देउवा सम्भावित सत्ता समीकरण, संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org