ताजा समाचार

संसदीय दलको नेता प्रचण्डलाई बनाएको जानकारी गराउन प्रचण्ड-नेपाल समूह पुग्यो संसद सचिवालय

काठमाडाैँ । नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको जानकारी संसद् सचिवालयलाई गराएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई भेटेर प्रचण्ड-नेपाल समूहको नेकपाले संसदीय दलको नेता परिवर्तन गरेर प्रचण्डलाई बनाइएकाले आफूहरुको निर्णयलाई मान्यता दिन आग्रह गरेको हो ।

महासचिव गौतमलाई भेट्न प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रमुख सचेतक देवप्रसाद गुरुङ लगायतका नेताहरु पुगेका हुन् ।

संसद् सचिवालयले नेकपा विभाजन भएको आधिकारिक पत्र नआएसम्म दलको नेता परिवर्तनसम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएको थियो । त्यसलगत्तै प्रचण्ड-नेपाल समूह आफूहरुले बहुमतबाट निर्णय गरेकाले मान्यता दिन महासचिव गौतमलाई आग्रह गरेको हो ।

प्रचण्ड-नेपाल समूहको शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । उक्त बैठकमा १११ जना सांसद उपस्थित रहेको दाबी प्रचण्ड-नेपाल समूहले गरेको छ ।

प्रचण्ड-नेपाल समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी लगायत सांसदमाथि कारबाही गरेको पनि जानकारी संसद  सचिवालयलाई गराएको छ ।

दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेको भन्दै संसद् सचिवालयले नेकपाका दुवै समूहका सांसदलाई संसदमा एउटै लहरमा बस्ने व्यवस्था मिलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org