ताजा समाचार

सत्ता समीकरणमा सहमति जुटाउन तीन दलको बैठक बस्दै

काठमाडौं । सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुँदैछ।

जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग बसेर छलफल गर्ने निर्णय गरेको गरेपछि आज छलफल हुन लागेको हो।

आज छलफल हुने बताइए पनि कति बेला हुने भन्ने टुंगो लागिनसकेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए। सत्ता सहकार्यबारे जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा देखिएका छन् भने संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नसकिने पक्षमा देखिएका छन्।

नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले प्रधानमन्त्री ओलीसँग छलफल गरेको छ। यस्तै‚ प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ।

कांग्रेसले पनि नयाँ सरकार गठनमा आफू अगाडि बढ्ने संकेत गरिसकेको छ। उसले नेतृत्व पाए सरकारमा जान सक्ने बताउँदै आएको छ। जसपाका नेताहरु पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन्। जसपाका अध्यक्ष यादवले कम्युनिस्ट र कांग्रेस दुवै दल सरकार चलाउन असफल भइसकेकाले अब सरकारको नेतृत्व आफूहरूलाई दिनुपर्ने धारणा राख्दै आएका छन्।

यस्तै, माओवादी केन्द्र र एमालेको नेपाल–खनाल पक्षका नेताहरुले पनि आन्तरिक छलफललाई तीव्र बनाएका छन्। उनीहरुबीच प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्लो निर्णयपछि नयाँ समीकरण बनाएर अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ। यो समूहले वामपन्थीको सरकार बनाउनु पर्नेमा जोड दिँदै आएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org