ताजा समाचार

माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई ओलीको कडा निर्देशन

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले बुधवार र बिहीवार आयोजना गर्न लागेको भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

भेलामा सहभागी भए पार्टीको विधान र दल सम्बन्धी कानूनअनुसार कारवाही हुने उनले चेतावनी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार केन्द्रीय सदस्य र सांसदहरूका लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीमा ‘एनार्किज्म’ अब स्वीकार्य नहुने बताए ।

‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ । राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे,  कसैले अर्को पार्टी कमिटी बनाउन सक्छ समानान्तर कमिटी होइन,’ ओलीले भने, ‘अराजकता, अनुशासनहीनता जस्ता कुरा, एकता विरोधी कुरामा छुट हुने छैन । अचाक्ली भयो ।’

बुधवारका लागि आयोजना गरिएको भेला अवैधानिक भन्दै ओलीले सहभागी भए पार्टी विधान र दलीय कानून अनुसार कारवाही हुने चेतावनी दिए ।

‘पार्टीमा हामी सबैले एकताबद्ध भएर काम गर्नुपर्छ । अनुशासनहीन भयो भने पार्टीको विधान छ, कानून छ, संसद नियमावली छ । दल सम्बन्धी कानून छ, यी सबै कुरामा ध्यानाकर्षण गराउँछु,’ ओलीले भने, ‘हामीले खोजेको एनार्किज्म होइन, सुसभ्य समाज स्थापनाका लागि अनुशासित पार्टी चाहिन्छ । भोलि भेला आह्वान गरेको छ, एमाले नेता सम्बद्ध कुनै गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई सजग र सचेत गराउन चाहन्छु ।’

आफूले बोलाएको चियापान कार्यक्रममा उपस्थित नभएको भन्दै ओलीले माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरे । ‘नाम लिन परेन, कसले बोलाएको चियापानमा जानुहुन्छ उहाँहरू, सबैलाई थाहा छ,’ ओलीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org