ताजा समाचार

प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगेका छन् । यसअघिको बैठकमा सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै बैठकमै नबसेका प्रधानमन्त्री ओली मंगलबार भने समयमै सुरु भएको बैठकमा पुग्न सकेनन् ।

मंगलबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १ बजेर २ मिनेट जाँदा सञ्चालन गरेका थिए । आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने र सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन मात्रै गर्ने कार्यसूची थियो । मंगलबारको बैठक ७ मिनेट मात्रै चलेको थियो । प्रधानमन्त्री ओली भने बैठक सकिनेबित्तिकै १ बजेर ९ मिनेट जाँदा संसद् भवन पुगेका थिए ।

प्रधानमन्त्री मात्रै होइन, अधिकांश मन्त्रीहरु पनि बैठक सकिएपछि संसद् भवन पुगेका थिए । बैठक सकिएपछि संसद् भवन पुगेकी एक मन्त्रीले भनिन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको चियापानबाट आउँदाआउँदै बैठक त सकिएछ । चियापानले गर्दा संसद् बैठक छुट्यो ।’

मंगलबार बालुवाटारमा ओलीले सांसद र केन्द्रीय सदस्यलाई चियापानमा बोलाए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम समूहले भने बहिष्कार गरेको थियो ।           सर्वोच्च अदालतको फैसलापछि पुन:स्थापित भएपछि ३ दिन संसद् बैठक बसिसकेको छ । तर प्रधानमन्त्री ओली तीनै दिनका बैठकमा उपस्थित भएनन् । फागुन २३ र २६ गतेको बैठक भने ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका थिए ।

प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org