ताजा समाचार

जलवायु परिवर्तनको प्रभाव : फुलेन लालीगुराँस, फलेन चुत्रो र ऐँसेलु

काठमाडाैँ । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा वसन्त ऋतुको आभाष हुनसकेको छैन ।

यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने जंगली फल नै फलेका छन्।

यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बन्ने समय हो। तर यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै छ। जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रको जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिच्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि यहाँ छन्।

फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन्।

भएका बोटहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्किएको ज्यामरुककोटका नारायण् शर्माले बताए। यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनको भनाई छ।

यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उनले बताए। फुलेका लालीगुराँसमा पनि साना कोपिला मात्रै छन्।

भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी पाइने वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन् । ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org