ताजा समाचार

रेडपाण्डाको छालासहित तिन जना पक्राउ

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन जनालाई  सोलुखुम्बु प्रहरिले पक्राउ गरेको छ ।

दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)  चोरी शिकारी, ओसारपसार र बेचबिखनमा संलग्न ३ जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको हो ।

सोलुखुम्बुको  महाकुलुङ गाउँपालिका–३ बस्ने ५७ वर्षीय मित्रधन राई, ५६ वर्षीय कविरशंखर राई र सोही गाउँपालिकाको वडा नं. २ बस्ने ७६ वर्षीय जगतबहादुर राईलाई पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका  डीएसपी कवित कटवालले न्युज नेपाललाई जनकारी  दिए ।

उनीहरुले मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र वन्यजन्तुलाई चोरी शिकारी गर्ने, आखेटोपहार लुकाइछिपाइ राखी ओसारपसार तथा बेचबिखनमा समेत संलग्न रहेको पाईएको हो ।

प्रहरीको अनुसन्धानका अनुसार मित्रधनले पासो बनाएर रेडपान्डाको शिकार गर्ने, कविरशंखर शिकार गरेको रेडपान्डा संकलन गर्ने र  जगतबहादुरले ओसारपसार तथा वेचविखन गर्ने  गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरुले सयौं रेडपाण्डाका शिकार गरी किमाथांका नाका हुँदै चीनतर्फ तस्करी गरेको खुलेको छ,’ डीएसपी कटवालले भने ।

उनीहरुको साथबाट रेड पान्डाको छाला ७ थान र चोरीशिकारीका लागि प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई गत सोमबार पक्राउ गरिएको हो । डीएसपी कटवालले उनीहरुलाई आवश्यक कारबाहीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइने जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को १ अनुसार कारबाही हुनेछ, जसअनुसार पाँचदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

रेडपान्डाको विशेषगरी वासस्थान निगालो भएको जंगल हो । यसले निगालोको टुसा र पात खाने गर्दछ ।

मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपान्डा पाइन्छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org