ताजा समाचार

शेष घलेको नक्कली भाइ गमबहादुर पक्राउ

काठमाडाैँ । आफूलाई खर्बपति व्यापारी तथा गैरआवासीय नेपालीहरूको संगठन (एनआरएन) का पूर्वअध्यक्ष शेष घलेको नक्कली भाइको भेषमा दुनियाँलाई ठग्दै हिँडेका गमबहादुर लामिछाने अहिले बेलुका अकस्मात लाजिम्पाट र लैनचौरको दोसाँधबाट पक्राउ परेका छन् ।

स्कुटी चढेर नयाँ मुर्गाको हण्टिङमा निस्केको बेला उक्त ठाउँमा रहेको होटल एम्बेसडरको सातौं तलाबाट लामिछाने समातिएका हुन् ।

पौने पाँच करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अर्थात् चेक बाउन्सको उजुर उनीबिरुद्ध दायर भएको अवस्थामा लामिछानेलाई काठमाडौं प्रहरीको विशेष टोलीले आज पक्रेको हो । एक जना चिनियाँ व्यवसायी चाङ जिनसियाङले खरिद गरेको गोंगबुस्थित एउटा घरलाई समेत ठगेर आफ्नो बनाएका उनले त्यसपछि चितवनलगायत विभिन्न ठाउँमा सिलसिलेवार ढंगले ठगी प्रक्रियालाई अघि बढाएका हुन् ।
विदेशीले नेपालमा सोझै लगानी गर्न,कम्पनी खोल्न र श्री सम्पत्ति किन्न नसक्ने भन्दै लामिछानेले चिनियाँले छ करोड असी लाखमा किनेको घर आफ्नो नाममा दर्ता कायम गरेका थिए । चीनसँग व्यापार गर्न दर्ता गरिएको टियानयु इन्टरनेशनल कम्पनीलाई अघि सार्दै उनले एक साताभित्र चिनियाँको नाममा घर नामसारी गरिदिने कागज गरेपनि वर्षौंसम्म त्यसो नगरेको अभियोग पनि उनीमााथि लाग्दै आएको छ ।

त्यसपछि चिनियाँ व्यापारीलाई घरको न घाटको बनाउँदै लामिछानेले चिनियाँको घरलाई सिभिलसहित विभिन्न बैंक तथा सेन्ट्रल फाइनान्सजस्ता वित्तीय संस्थामा धितो राखेर करोडौं रकम झिकेका थिए । पछिल्लो पटक सिभिल बैंकमा घर धितो राखेर थप २ करोड रुपैयाँ आफैैंले प्रयोग गरेको देखिन्छ । गौंडागौंडामा श्रीमती र लालाबाला भएका लामिछानेको अनौपचारिक श्रीमती धेरैवटी कान्छी रहेको रहस्यसमेत यसबीच खुलेको छ ।

दाइ शेष घले अष्ट्रेलियामा रहेको भन्दै धेरैलाई मुर्गा बनाई हिँडेका उनीचाँहि मध्यपूर्वका अरब मुलुकहरूमा काम गरेर स्वदेश फर्केका हुन् । लामिछानेको लमजुङबाट निकालिएको नागरिकता नै तीन वटा रहेको समाचार यसअघि विभिन्न सञ्चार माध्यममा प्रकाशित  छ ।
उनले चिनियाँ व्यवसायी चाङ दम्पत्तिलाई पछिल्लो दिन धम्क्याउँदै नेपाल छाड्न दबाव दिन थालेका थिए । अन्यथा, विदेशीलाई जे पनि गर्नेसम्मको धम्की दिएको बताइन्छ ।

चिनियाँ दम्पत्तिले आफ्नै लगानीमा चितवनमा घाँस उत्पादन गरेर तिब्बत निकासी गर्ने व्यवसाय सञ्चालन गर्दै आएका छन् । वर्षको छ महिना भन्दाबढी समय हिउँ पर्ने भएकाले तिब्बतका याकलाई चितवनको घाँस सुलभ र पोसिलो देखिएपछि चाङले उक्त व्यवसाय गर्दै आएका हुन् । तर, तिनै लामिछानेले चाङलाई अनेक दुःख दिँदै घाँस उत्पादन कम्पनी समेत आफ्नै भएको दाबी गर्दै आएका थिए । कतिपय ठाउँमा चिनियाँको व्यवसायलाई आफ्नै भएको झूठो विवरणसमेत दिएको देखिन्छ । घाँस फ्याक्ट्री हत्याएर विदेशीलाई दुःख दिने नियतले उनले चितवन अदालतमा मुद्दा हालेर धम्काएका थिए । 

स्कुटर चढ्ने, डेरामा बस्ने तर, कुरा भने करोड घटीको नगर्ने लामिछानेले भिआइपीबाहेकको गफ हान्न र सङ्गै बसेको फोटो देखाउन छाडेको धेरै भइसकेको थियो । पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री ओलीका भतिज टीका ओलीसम्मका राजनीतिक व्यक्तित्वसँग खिचिएको फोटोलाई दुरुपयोग गरेर जनता ठग्दै हिँडेका उनीसँग साथमा भने मुश्किलले हजारको नोट भेटिने उनका संगती हरूले बताएका छन् । उनले व्यवसायीलाई मात्रै होइन अदालतका कतिपय न्यायाधीशका श्रीमतीहरूलाई समेत उच्च ब्याजको लोभ देखाएर लाखौं ठगेका छन् ।

पछिल्लो पटक उनले अमेरिका बस्ने ललितपुरस्थित एउटा सहकारीका अध्यक्ष श्रीनाथ खड्कालाई ठगेको उजुरी परेपछि प्रहरीले आज लाजिम्पाटबाट पक्रेको हो ।

पटक पटक पक्राउ पर्दा राजनीतिक शक्तिको आडमा छुट्दै आएका लामिछानेले यसपटक नेपाल प्रहरीलाई राजनीतिक प्रभावमा पार्छन् कि पार्दैनन् त्यो भने हेर्न बाँकी छ । मुलुकमा वैदेशिक लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने तथा रोजगारी सिर्जना गर्ने विदेशीहरूलाई दुःख दिएका उनको आजको पक्राउले वैदेशिक लगानीमा संलग्न विदेशीलाई सबैभन्दा ठूलो राहत मिलेको बताइन्छ ।

अन्यथा, यस्तालाई पुनः छाडिदिने हो भने अरु धेरैले थप दुःख पाउने र नेपालमा लगानी गर्न र नेपाली साझेदारलाई उनीहरूले बिश्वास गर्न छाड्ने निश्चित रहेको सर्वसाधारण बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org