ताजा समाचार

माओवादी केन्द्रले भन्यो- सरकारले २३ चैतभित्र विश्वासको मत लिनैपर्छ

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारले २३ चैतभित्र विश्वासको मत लिनुपर्ने बताएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले २३ फागुनको सर्वोच्च अदालतको फैसलासँगै दल विभाजित भएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताएका हुन् ।

‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । सर्वोच्च अदालतको फैसलापछि सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘११ फागुनमा सर्वोच्चको संवैधानिक इजलासले संविधानको धारा ७५ (१) को सरकार भएको भनेको थियो । तर, सर्वोच्चको पछिल्लो फैसलाले ७६ (२) आकर्षित गरेको छ । त्यसैले दल विभाजित भइसकेको अवस्थामा सरकारले विश्वासको मत लिनुपर्छ ।’

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन ।

प्रमुख सचेतक गुरुङले दल विभाजित भएकाले सरकारले २३ चैतभित्रै विश्वासको मत लिनुपर्ने बताए । ‘दल विभाजित भएको २३ चैतमा ३० दिन पुग्छ,’ उनले भने, ‘यदि २३ चैतभित्र विश्वासको मत नलिए यो सरकारको हैसियतमाथि कानुनी र संवैधानिक प्रश्न उठ्छ ।’

गुरुङले सरकार फेरि संसद भंग गरेर मध्यावधि निर्वाचनतर्फ देशलाई लैजाने खेलमा लागेको पनि आरोप लगाए । ‘सरकार ५ पुसकै मनस्थितिमा छ,’ उनले भने, ‘यो सरकारले सर्वोच्च अदालतको फैसलालाई अंगीकार गरेको छैन । फेरि संसद भंग गर्ने र मध्यावधितिर लैजाने दिशामा यो सरकार लागेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org