ताजा समाचार

माओवादी र जसपाका कारण नयाँ सरकार निर्माण प्रक्रिया सुरु हुन सकेन : कांग्रेस

काठमाडौँ  । नेपाली कांग्रेसले नेकपा(माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयसाथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रूपमा एकढिक्का भएर उभिएमा मात्रै कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्‍ने अवस्था आउने बताए ।

उनले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्‍ने उहाँहरूले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्‍चबाट होइन लिखित रूपमा संसद् सचिवालय मार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो,’ शर्माले भने, ‘त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रूपमा प्रधानमन्त्रीजीले विश्‍वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्‍वासको मत वर्तमान सरकारलाई पक्कै दिने छैन । संसद्‍मा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रूपमा यसको निर्णयमा पुग्‍नेछौँ ।’

वर्तमान सरकारले विश्‍वासको मत प्राप्त गर्ने अवस्था नरहेमा मात्रै नयाँ सरकारको लागि ढोका खुल्ने शर्माले बताए । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता समीकरणको विषय ठिक समयमा परिपक्‍व परिस्थितिको विकास भएर जाने र सरकार बन्‍न सक्ने शर्माले बताए ।

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको शर्माले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org