ताजा समाचार

भीम रावललाई आँखामा समस्या, कार्यदलको बैठक अनिश्चित

काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ।

माधव पक्षका नेतृत्वकर्ता नेता  भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए।  उनले भने, ‘कहिले र कतिबेला बैठक बस्ने भन्नेबारे टुंगो लागेको छैन।’

एमाले भित्रको विवाद समाधान गर्न  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरेर १० सदस्यीय कार्यदल गठन गरेका थिए।

विवाद समाधन गर्ने जिम्मा कार्यदलका सदस्यलाई दिइएको छ।  कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच–पाँच जना राखिएका छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।

नेपाल पक्षले एमालेलाई नेकपा (माओवादी केन्द्र) सँग एकीकरण गर्नुअघि २ जेठ, २०७५ मा फर्काउनुपर्ने बताउँदै आएको छ। एमाले र माओवादी ब्यूँतिएपछि गत २८ फागुनमा ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग छ।

कसरी २ जेठ, २०७५ मा फर्किने भन्ने विषयको टुंगो लगाउन कार्यदल गठन गरिएको हो। कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न म्याद दिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org