ताजा समाचार

मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री गुरूङको तयारी, को–को बन्लान् मन्त्री ?

काठमाडौ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । पूरै मन्त्रिपरिषद् नभए पनि बजेटको तयारीका लागि अर्थ मन्त्रालयसहित बढीमा तीन मन्त्रालयमा मन्त्री थप्ने तयारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छ ।

गत २६ वैशाखमा मुख्यन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बाले तीन दिनपछि ठूलो दलको नेताको हैसियतमा पुनः सपथ लिएका थिए ।

कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्री गुरुङले बजेटलाई ध्यानमा राख्दै तत्काललाई केही मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउनुपर्ने बेलामा आर्थिक तथा योजना मन्त्रालय मन्त्रीविहीन छ । किरण गुरुङले अर्थमन्त्रीमा फेरि पनि निरन्तरता पाउने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

दोस्रो कार्यकालमा पनि पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिने वा नयाँ अनुहार ल्याउने भन्ने निश्चित भइनसकेको छैन ।

त्यस्तै रामशरण बस्नेतले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा पुनर्नियुक्ति पाउने पक्का छ ।

कोरोनाको महामारी चलिरहेकाले सामाजिक विकास मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्नुपर्ने बाध्यता छ । यो मन्त्रालयले पनि मन्त्री पाउने चर्चा छ । तर, मुख्यमन्त्री गुरुङले नरदेवी पुनलाई नै निरन्तरता दिन्छन्/दिँदैनन् त्यो भने अन्योल छ । किनकि कोभिडको बेलामा पनि सन्तोषजनक काम गर्न नसकेको भन्नेमा पुनसँग मुख्यमन्त्री गुरुङ असन्तुष्ट रहँदै आएका थिए ।

यी तीनबाहेक अरु मन्त्रालयमा तत्काललाई मन्त्री नथप्ने पक्षमा मुख्यमन्त्री गुरुङ छन् । विश्वासको मत लिएपछि अरु मन्त्रालयमा मन्त्री थप्ने मुख्यमन्त्रीको योजना छ ।

तर, युवा तथा खेलकुदमन्त्री बनेका राजीव गुरुङलाई पनि अहिले नै निरन्तरता दिएर थम्थम्याउने प्रयास हुन सक्छ । किनकि विश्वासको मत लिनुपर्ने बेलामा स्वतन्त्र सांसद राजीवको मत पनि आफ्नो पक्षमा पार्नु पर्नेछ ।

यसअघि मन्त्रिपरिषद्मा अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री पुन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल थिए ।

माओवादीतर्फबाट मन्त्री बनेका तत्कालीन कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापामगरले राजनीतिक घटनाक्रमका कारण २५ चैतमा राजीनामा दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org