ताजा समाचार

ओलीलाई कारबाही गर्न निर्वाचन आयोगसँग प्रचण्ड सचिवालयको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोप्रति आपत्ति जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै ओलीलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरेको छ ।

एमालेका अध्यक्षसमेत रहेका ओलीले आज एक वक्तव्य जारी गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को लागि मत मागेका थिए । उनले पार्टी निर्णय नमान्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

“मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमूक उमेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गर्दछु,” प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकार प्रमुखले नै उमेदवारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा रहेको उनको ठहर छ ।

निर्वाचन आयोग, राजनीतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाको निम्ति एकजुट हुन उनको अपिल छ ।

वाग्मती प्रदेशअन्तर्गत बिहीबार हुन लागेको उपनिर्वाचनका लागि जेठ ३ गतेबाट मौन अवधि सुरु भएको थियो । तर, ओलीले आज वक्तव्य जारी गरेपछि निर्वाचन आयोगले पनि कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org