ताजा समाचार

फेरि फर्काइयो ५ पुस

सर्वोच्चले पुनःस्थापना गरिदिएको संसद् तीन महिना नपुग्दै फेरि विघटन

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएको तीन महिना पूरा भएको छैन । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएको हो ।

तर तीन महिना नपुग्दै फेरि संसद् विघटन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् ।

त्यसअघि मध्यरातमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।  मन्त्रिपरिषद् बैठकले मध्यरात संसद् विघटन गरी मुलकलाई पुनः निर्वाचनतर्फ धकेलेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस गरिएको दाबी खारेज गर्दै मन्त्रिपरषद् बैठकको सिफारिसमा दुई चरणमा चुनाव घोषणा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले अबेर राति दुवै खारेज गरेकी थिइन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा चुनाव तोकेकी हुन् ।

“सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ,” राष्ट्रपति कार्यालयले अबेर राति जारी गरेको सूचनामा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org