ताजा समाचार

राष्ट्रपतिको स्वविवेकीय अधिकारविरुद्ध कतै उजुरी लाग्दैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरेका छन् ।आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् ।

‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org