ताजा समाचार

राष्ट्रियसभा उपनिर्वाचन : मुख्यमन्त्रीले गरे पहिलो मतदान

काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रमा सोमबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मत हालेसँगै मतदान प्रारम्भ भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।

प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोरोना संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उपनिर्वाचनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।

उपनिर्वाचनमा प्रदेशकातर्फसभा सदस्य ८३ र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता छन् । मतदाताको अन्तिम नामावलीमा प्रदेशसभाअन्तर्गत ७९ सदस्यको मात्रै नाम भए पनि जनता जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि ८३ सदस्य भएको हो ।

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org