ताजा समाचार

ओलीले पूर्वन्यायाधीशहरूलाई भने– आफ्ना पालामा केही नगर्ने, पेन्सन खाएपछि सडकमा ताण्डव ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चारजना पूर्वप्रधानन्यायाधीशमाथि खनिएका छन् ।

सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति यस्तो आक्रोश व्यक्त गर्दै सडकमा तमासा देखाएको बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केहीदिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई संविधान मास्ने खेलसँग तुलना गरेका थिए ।

“उहाँहरू त्यही चाहिरहनुभएको छ । हामीले लेखेर दिएको फैसला पढिसुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ? कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने ! अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ ?” प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

उनले यस प्रकारका ‘आउटडेटेड एलिमेन्ट’हरूबाट देशलाई दुस्प्रभावित हुन नदिइने बताए । र, जोगाइने पनि उद्घोष गरे ।

उनले अरू पनि यस्ता तत्त्व देखिएको बताए । “कसैलाई पूर्ण बजेट ल्याउनुहुँदैन, कसैलाई बजेट ल्याउनुहुँदैन, कसैले विकास बजेट ल्याउनुहुँदैन, विकासका कामलाई एकवर्ष ठप्प राख्नुपर्छ, जनताहरूलाई सेवा गर्न हुँदैन । सरकार, राज्यको काम जनताको सेवा गर्ने होइन, हो भने पनि यतिबेला स्थगित राख्नुपर्छ, महामारीको यस्तोबेला छ, जनतालाई उपचार गर्नुपर्छ,” उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org