ताजा समाचार

मुख्यमन्त्री पोखरेल मनाङबाट पोखरा फर्किए, आजै विश्वासको मत लिँदै

पोखरा । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् ।

शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

मनाङ घर भएका मन्त्री दीपक मनाङे, सांसद चिन्त घलेसँगै राहत सामाग्रीसहित स्थलगत निरिक्षणका लागि पुगेका मुख्यन्त्री पोखरेल हेलिकप्टर उड्न नसक्दा बिहीबार उतै रोकिएका थिए । मुख्यमन्त्री चढेर मनाङ पुगेको सेनाको हेलिकप्टर उद्धारमा लागि मनाङमै रोकिएपछि मुख्यमन्त्री अर्को हेलिकप्टर मगाएर फर्किने योजनामा थिए । पोखराबाट गएको हेलिकप्टर मौसमका कारण ल्याण्ड गर्न नसकी बिहीबार पोखरा नै फर्किएको थियो ।

मौसम खुलेपछि शुक्रबार बिहान नेपाली सेनाकै हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल पोखरा फर्किएका हुन् । चाउचाउ, चिउरा र इन्धन बोकेर मनाङ पुगेका मुख्यमन्त्री पोखरेलले स्थतगत निरीक्षण, स्थानीय प्रशासनसँग छलफल गरेर फर्किएको बताए ।

४ दिनदेखि परेको पानीका कारण आएको बाढी, पहिरोले मनाङमा १ हजार बढी विस्थापित भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको छ ।

मुख्यमन्त्री पोखरेल पोखरा फर्किएपछि आजै उनले गण्डकी प्रदेश सभामा विश्वासको मत लिँदै छन् । आज विश्वासको मत लिने कार्यसूची तयार भएर पनि मुख्यमन्त्री गुरुङ मनाङमै अड्किएपछि मिति पछाडि धकेल्नेबारे पनि छलफल भएको थियो । तर, मौसम खुलेर पोखरा फर्किएपछि आजै विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ ।

विपक्षी ४ दलको गठबन्धनबाट २९ गते मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आजै  विश्वासको मत लिएर बल्ल बजेटमाथि छलफल सुरु गर्नेदेखि मन्त्रालय बाँडफाँट गर्नेसम्मका काम टुंगोमा पुर्याउने योजना मुख्यमन्त्री पोखरेलको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org